Sunday, August 22, 2010

कमाउन गएकाहरू ऋण बोकेर फर्के

भाद्र ७ -
कमाउन विदेश गएका ६१ युवा लिबियाबाट उल्टै ऋण बोकेर फर्केका छन् । जाँदा डेढ लाखदेखि २ लाख रुपैयाँ खर्चेर गएका उनीहरू रित्तो हातजस्तै र्फकन बाध्य भए । विदेशमा बन्दीजस्तै जीवन बिताएर सरकार, अन्तर्राष्ट्रिय आप्रवासन संघलगायतको पहलमा फर्केका उनीहरू आफूहरूसँगै कष्टसाथ जीवन बिताएका ४९ साथी अझै नफर्केकामा चिन्तित छन् । उनीहरूले ती नेपालीले पीडापूर्ण जीवन बिताइरहेकाले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । गएको डेढ महिनामै कामविहीन बनेका धादिङको मूलपानीका ३१ वषर्ीय इन्द्रबहादुर थापा भोगेको पीडा सम्झदा भक्कानिँदै थिए । बिरामी हुँदा खर्च नभएर उपचारसमेत नपाएर एक पाकिस्तानीको सहयोगमा औषधि गरेका उनले भने, 'नर्कबाट फर्केका छौं । पुनर्जीवन पाएजस्तै भएको छ ।'
दलाललाई मोटो रकम खुवाएर दक्षिणपूर्वी अफ्रीकी मुलुक लिबिया पुगेका उनीसहित १ सय ८ जना काम नपाएर महिनौं अलपत्र परेका थिए । छोटो अवधिको भिसामा पुर्‍याइएका उनीहरूले त्यहा काम मात्रै नपाएका होइनन्, अवैध रूपमा बस्न बाध्य भए । काम नपाएपछि आम्दानी नहुँदा राम्रोसँग खानसमेत नपाएको सिन्धुुलीका २९ वषर्ीय भक्तबहादुर अधिकारीले बताए । अवैध बसेको अवधिको जरिमाना सरकारलाई नतिरी उनीहरू र्फकनसमेत नसक्ने भएका थिए ।
उनीहरूमध्ये अधिकांश धौलागिरि मेनपावर कम्पनीमार्फत त्यहाँ गएका थिए । उनलाई त्यो कम्पनीकी सञ्चालिकाका श्रीमान् तेजप्रकाश पुनले लगेका थिए । बि्रटिस कम्पनीमा मासिक ५ सय डलरसहित खानेबस्ने सुविधा दिने आश्वासमा त्यहाँ पुर्‍याएका उनीहरू त्यहाँको एयरपोर्टबाट निस्कनासाथ अवैध भइसकेका थिए । तीन दिन भिसा बाँकी हुँदा यहाँबाट उडाइएका उनीहरूको भिसा त्यहाँ पुग्नासाथ सकिएको थियो । सल्लेरीका अमृत मगरका अनुसार उनीहरूलाई एयरपोर्टमा छिरेपछि मात्र पासपोर्ट दिइएको थियो । 'अरबी भाषामा लेखिएकाले भिसा कति अवधिको छ भन्ने समेत हामीले बुझेनौं,' उनले भने ।
केही अघि त्यहाँ पुगेका इन्द्रबहादुरलगायत कामदारले डेढ महिना काम गरेपछि कम्पनी बन्द हुने अवस्था देखिएको थियो । उनीहरूले थप कामदार ल्याउन लागेको देखेर धौलागिरिका सञ्चालक पुनलाई नल्याउन भनेका
थिए । 'हाम्रो कुरै सुनेनन्,' इन्द्रले भने, 'त्यसपछि कम्पनी बन्द भएकाले पछि पुग्नेहरू सबै बेरोजगार भए ।' भनेको कम्पनीमा सानोसानो कामको जिम्मा उनीहरूलाई लैजाने पुनले लिने गरेका रहेछन् । उनले कम्पनीमा नभई आफूले जिम्मा लिएको काममा लगाउन नेपाली युवालाई त्यता लगेका रहेछन् । पुनले कम्पनीबाट रकम बुझे पनि उनीहरूले तलब पाएनन् ।
'कम्पनी बन्द भएपछि केही व्यक्तिलाई पुनले अर्को चिनियाँ कम्पनीमा काम लगाउन लान खोज्यो,' ताप्लेजुङ याम्फुदिनका तिलकमान गुुरुङले भने, 'अलपत्र परेकामध्ये ७१ जना खानै नपाएर भोकै मर्नुभन्दा जान तयार भए ।' बाँकी ३६ जनाले जान अस्वीकार गरे । अस्वीकार गर्नेको सम्पर्कमा पुन आउनै छाडे । केही व्यक्तिसँग बचेको केही रकम खर्च गर्दै उनीहरूले ज्यान धान्दै आए ।
त्यो पनि सकिएपछि उनीहरूले सरकारसँग उद्धारको गुहार माग्दै श्रम मन्त्रालयमा निवेदन फ्याक्स गरे । त्यो थाहा पाएपछि तेजप्रकाशले मेस चलाउने ठेकेदारलाई कामदारलाई खाना नदिन निर्देशन गर्‍यो । 'हामीले ९ दिनसम्म खानै पाएनौं,' इन्द्रबहादुरले सुनाए, 'उजुरी फिर्ता लेऊ भन्दै धम्क्याउथ्यो ।'
चिनियाँ कम्पनीले ती कामदार अवैध भएको थाहा पाएपछि काममा लगाउन अस्वीकार गर्‍यो । त्यसपछि सबै जना फर्केर पहिलेकै ठाउँमा आए ।
'हामीलाई जनावरलाई राखेजस्तो गरेर राखिएको थियो, अर्का पीडित ताप्लेजुङ लेलेपका पेम्बानुर्पु भोटेले भने, 'पानी, बिजुली थिएन । गर्मीले भित्तोसमेत तातेर सहनै नसकिने थियो । कहिलेकाहीँ नुनभात मात्र खाएर बस्नुपर्‍यो । त्यसैबीच इन्द्रबहादुर एपेन्डिसाइटिसको बिरामी परे । साथीहरूको सहयोगमा अस्पताल पुर्‍याइयो ।
चिकित्सकले केही घन्टाभित्र अपरेसन नगरे बचाउन कठिन हुन्छ भन्दै रकम जम्मा गर्न भन्यो । उनीहरूले पुनलाई गुहारे । ऊ पैसा छैन भन्दै भाग्यो । 'मलाई मर्छु जस्तै लागेको थियो,' इन्द्रले भने, 'अन्ततः एउटा पाकिस्तानीलाई साथीहरूले गुहारे । उसले मानवताको नाताले सहयोग गर्‍यो र म बाँचें ।'
यता ती अलपत्र परेकाहरूका आफन्त उनीहरूको उद्धारका लागि मन्त्रालय, मन्त्री, नेताहरूसँग गुहार मागिरहेका थिए ।
धाउँदा हैरान भएका थियौं,' भक्तबहादुरका दाजु भेषराजले भने । सरकार र अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आइओएम) को लामो पहलपछि नेपाली कामदार काम गर्ने कम्पनी सिकेजीलाई लिबिया सरकारले आफ्नो नियन्त्रणमा लियो । त्यसपछि कम्पनीले उपलब्ध गराएको तलबी चार्टअनुसार हरेकलाई फरकफरक रकम दिएर लिबिया सरकारले एक्जिट भिसा -र्फकने अनुमति) दियो । 'मैले झन्डै ४ हजार दिनार पाउनुपर्ने थियो,' इन्द्रबहादुरले भने, 'मलाई १ सय २० दिनार मात्र थिइयो । के आधारमा पाउनुपर्ने रकमको विवरण कम्पनीले पठायो । बुझ्नै सकेको छैन ।'
र्फकनेहरू पुनर्जीवन पाएको बताउँछन् । 'हामीलाई मरेर बाचेजस्तै भएको छ,' भक्तबहादुरले भने, 'हाम्रा ४९ जना साथीहरू अझै नारकीय जीवन भोग्दै छन् । उनीहरूको सरकारले छिटो उद्धार गर्नुपर्छ ।' उनीहरूसँगै एक्जिट भिसा पाएका ४९ लाई पुनले 'मेरा मान्छेलाई काम लगाउँछु' भनेर राखेको फर्केकाहरू बताउँछन् । सरकारले भने उनीहरू छिट्टै र्फकने बताएको छ ।

0 comments:

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Tulsi Ram Kc 2010

you can go TOP of the page