पिसाब जम्मा गर्नुस्, पैसा आउँछ
नेपाल समाचारपत्र, (काठमाडौं), मानवमूत्रको उचित व्यवस्थापन गर्न र बालीनालीमा मलखादका रूपमा प्रयोग गर्न सिद्धिपुरका किसानहरूले आफ्नै गाउँमा नेपालकै पहिलो मूत्र बैंक स्थापना गरेका छन्।
रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य खाद्यवस्तुको गुणस्तरमा कमी आउनुका साथै माटोको उर्बरा क्षमतामा पनि ह्रास आउन थालेपछि उक्त क्षेत्रका किसानहरूले खेतीका लागि मानवमूत्र प्रयोग गर्न थालेका हुन्। प्रांगारिक मलका रूपमा मानवमूत्र प्रयोग गरी उत्पादन गरिएको खाद्यवस्तु स्वास्थ्यका दृष्टिकोणबाट पनि लाभदायक हुने उनीहरूको दाबी छ।
उक्त मूत्रबैंकको सोमबार उद्घाटन गर्नुहुँदै युएन हाविटाट दक्षिण एसिया क्षेत्रका प्रमुख प्राविधिक सल्लाहकार डा. रोशनराज श्रेष्ठले मूत्रबैंकको स्थापनाले खेतबारीका लागि आवश्यक मूत्रको व्यवस्था गर्न कृषकहरूलाई सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार उक्त कार्यले समुदायमा वातावरणीय सरसफाइ सुधारमा पनि प्रभावकारी भूमिका खेल्ने देखिन्छ। हाल सानो स्तरमा शुरू गरिएको उक्त मूत्रबैंकको प्रभावकारिताअनुरूप भविष्यमा उक्त बैंकलाई बिस्तार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।
हाल सिद्धिपुरमा कृषकहरूले आफ्नै घरबाट उर्त्र्सजन भएको पिसाबलाई खेतबारीमा मलका रूपमा प्रयोग गर्ने गरेका छन्। मलका रूपमा खेतबारीमा मूत्र प्रयोग गर्दा एक भाग मूत्र र तीन भाग पानी मिसाइन्छ। खेतबारीमा मलका रूपमा प्रयोग हुन थालेपछि गाउँमा मानवमूत्रको खपत बढ्दै गएको छ। यसले सिद्धिपुरमा मानवमूत्रको मागमा पनि वृद्धि भएको छ।
उक्त माग पूर्वर्ति गर्न स्थानीयवासीहरूको पहलमा मानव पिसाब व्यवस्थापन समिति गठन गरी केन्द्रिकृत रूपमा मूत्र संकलन कार्य शुरू गरिएको मानव पिसाब व्यवस्थापन समितिका अध्यक्ष जीवन महर्जनले बताउनुभयो। उक्त कार्यका लागि समितिलाई स्विट्जरल्यान्डको सहयोगी संस्थार् इवाग र युएन हाविटाट नेपालको तर्फाट आवश्यक प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिएको छ।
समितिले मूत्र संकलनका लागि एक कर्मचारीको पनि नियुक्ति गरेको छ। वरपरका क्षेत्रबाट संकलन गरिएको मूत्र बैंकसम्म ल्याउनका लागि समितिले एउटा साइकल र ३० लिटरका दुईवटा जर्किनको पनि व्यवस्था गरिएको छ। हाल उक्त मूत्रबैंकमा कुल २ हजार लिटरसम्म मूत्र सञ्चय गर्नका लागि १ हजार लिटर क्षमताका दुईवटा टयांकी रहेका छन्।
आफ्नो खेतका लागि नपुग मूत्रबैंकबाट किन्न पाउने भएपछि स्थानीय किसानहरूमा उत्साह छाएको छ। बैंकले हाल १ लिटर मूत्रको १ रुपियाँका दरले बिक्री गर्ने गरेको छ। उक्त बिक्री रकमबाट ५० पैसा समितिको कोषमा जम्मा गरिन्छ भने बाँकी ५० पैसा संकलन कर्मचारीलाई पारिश्रमिकस्वरूप प्रदान गरिने इवागका राजु खड्काले जानकारी दिनुभयो।
0 comments:
Post a Comment