Sunday, August 22, 2010

'संसदीय पद्धतिको असफलताले प्रधानमन्त्री चयन हुन सकेन'


भाद्र ६ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय पद्धति असफल भएका कारण प्रधानमन्त्री चयन हुन नसकेको बताएका छन् । उनले प्रधानमन्त्री चयन हुन नसक्नुमा माओवादी जिम्मेवार भएको आरोपको खण्डन गर्दै त्यस्तो बताएका हुन् ।
भदौ ८ गतेदेखि हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार पार्न धुलिखेल पुगेका उनले संचारकर्मीहरुलाई आइतबार प्रतिकृया दिदै सोमबारसम्म मधेसी लोकतान्त्रिक मोर्चाले कुनै निर्णय नगरे प्रधानमन्त्रीमा माओवादीको राम्रो सम्भावना रहेको बताए । उनले मोर्चासँग पटक-पटक यस बिषयमा कुराकानी भएको बताउदै मोर्चाले माओवादीलाई सहयोग गर्ने आशा ब्यक्त गरे ।'प्रधानमन्त्री चयन हुन नसक्नुमा कुनै दल बिशेषलाई दोष दिनुभन्दा पनि संसदीय व्यवस्थानै फेलियर भएका कारण यस्तो अवस्था आएको हो ।' पाँचौ चरणसम्म प्रधानमन्त्रीको प्रत्यासी रहेका दाहालले भने, 'राष्ट्रिय सहमति बन्छ भने माओवादी उम्मेदवारी फिर्ता लिन तयार छ ।' ठूला दलहरुले गम्भीर भएर सहमति जनाए माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताउदै उनले एमालेलाई आफूहरुले त्यस बिषयको लिखित जानकारी गराएको स्मरण गरे । तर यसका लागि अहिलेसम्म गम्भीर पहलकदमी नभएको उनको भनाइ थियो । दाहालले शान्ति सम्झौताको भावना विपरित लडाकुको संख्या अहिलेनै तोक्नुपर्ने दलहरुले अडान राखेको प्रति असन्तुष्टि जनाए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार गर्न शान्त वातावरण खोज्दै यहाँ आएको उनले बताए ।
धुलिखेलस्थित मिरावेल रिसोर्टमा रात विताएका दाहाल आइतबार राजधानी फर्किएका छन् ।

0 comments:

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Tulsi Ram Kc 2010

you can go TOP of the page