युनिटीका दुई सञ्चालक पक्राउ / सम्पत्ति रोक्का
'देश बाहिर जान नदेउः गृह
काठमाडौं, जेष्ठ ४ - युनिटी इन्टरनेशनलका संचालकहरु मध्ये दुई जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जनाको तीव्ररुपले खोजी गरिरहेको छ । सरकारले सोमबारै संस्थाका सञ्चालकहरुको नामका खाता रोक्का गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई केन्दि्रय बैंकमार्फत् निर्देशन दिएको छ ।
गृह मन्त्रालले सोमवार साँझ नेपाल प्रहरी, अध्यागमन विभाग, अन्तराष्ट्रिय विमानस्थल र राजस्व अनुसन्धान विभागलाई गोप्य, अत्यन्त जरुरी पत्र लेख्दै आठ संचालकहरुलाई 'तत्काल पक्राउ गर्न' लिखित निर्देशन दिएको छ । त्यसरी दिएको निर्देशनमा उनीहरुलाई पक्राउ गर्न नसके 'अर्को आदेश नभएसम्म कुनैपनि अवस्थामा नेपाल बाहिर जान नदिन' निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको पत्रमा युनिटीका सन्चालकहरु पक्राउ गरिए लगत्तै ललितपुरस्थित राजस्व अनुसन्ध्ान विभागको कार्यालयमा बुझाउन समेत निर्देशन दिइएको छ ।
ललितपुर प्रहरी प्रमुख बिक्रम थापाका अनुसार, पक्राउ पर्नेहरुमा आर्थिक विभागका निर्देशक भीम गुरुङ र यात्रा निर्देशक नेत्र राजवंशी छन् । गुरुङ्ग दिव्यनगर छ स्थायी निवासी हुन भने राजवशी झापा चकचकी स्थायी निवासी हुन । दुवैलाई प्रहरीले जावलाखेलस्थित युनिटी टावरमा छापा मारी पक्राउ गरेको हो ।
पक्राउका लागी जारी गरिएको पत्रमा संचालकहरुको नागरिकता नम्बर, बुवाको नाम र स्थायी ठेगाना समेत उल्लेख छ । त्यसरी दिएको आदेशमा दुई सन्चालकहरु कृष्णबहादुर र बिष्णुबहादुर एकै घरका दाजुभाई भएको खुल्न आएको छ ।
यसअघि गृह मन्त्रालयले आइतवार साँझ देशभरिका जिल्ला प्रशासन कार्यालयलाई अत्यान्तजरुरी छाप लगाएको पत्र फ्याक्स मार्फत परिपत्र गर्दै युनिटिका संचालकहरुलाई नियन्त्रणमा लिई उनीहरुले गर्दै आएको काम कारवाही बारे अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
बीमा र बैक सम्बद्ध चारवटा प्रमुख नियमन निकायहरु राष्ट्र बैक, बिमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयसग परामर्श गरेपछि सरकारले युनिटीका संचालकहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको हो । पक्राउ गरिएकालाई पहिलो चरणमा अनुमति नलिई बिमा र बैकिङ्ग व्यवशाय गरी सर्वसाधरणलाई ठगी गरेको र विदेशी मुद्रा अपचलन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
युनिटीका पदाधिकारीहरुलाई पक्राउ गर्न जादा पक्राउ गर्न जाँदा टावर परिसरमा केही समय तनाव उत्पन्न भएको थियो । युनिटीले ठगी गरेको समाचार पत्रपत्रिका छपिएपछि रकम फिर्ता माग्नेहरुको जावलाखेलस्थित युनिटी टावर देशभरिका जिल्लास्थित कार्यालयमा बिहानैदेखि भीड लागेको थियो । एसपी थापा भन्छन-'प्रमाणहरु नष्ट नहुन् भनी युनिटीका मुख्यालय मानिने टावरमा ताला लगाएका छौं ।'
गृह मन्त्रालयले आफनै सूचना सयन्त्रबाट युनिटी इन्टरनेशनलका बारे विस्तृत विवरण संकलन गरेर अध्ययन गर्दा ठगी गरिरहेको खुल्न आएपछि अन्य सरकारी निकायको निर्णय प्रतिक्षा नगरी कारवाही प्रक्रिया अघि बढाएको थियो । युनिटीले 'बीमा र बैकिङ्ग कम्पनीको झै कारोवार गरिरहेको तर सम्बद्ध दुवै निकायबाट अनुमति नलिएको जस्ता दर्जनौ सरकारी नियमहरु मिचेको खुल्न आएको छ ।
सम्पत्ति रोक्काको पत्र
सञ्चालकहरुको नाममा रहेको घर जग्गा र सवारी साधान पनि रोक्का गर्न पनि अर्थ मन्त्रालयले यातायात व्यवस्था र मालपोत कार्यालयलाई सोमबार पत्र पठाएको छ ।
सरकारले गरेको अनुसन्धानमा युनिटीले राष्ट्र बैंकको स्विकृति विना निक्षेप भन्दै करोडौ रकम उठाएको गरेको, विमा समितिको स्विकृति विना एस्योरेन्स भन्दै बीमा पोलिसी विक्री गरेको र सेवा र अन्य कर नतिरेको देखिएपछि यस्तो निर्णय भएको हो । राष्ट्र बैंकबाट स्विकृति प्राप्त संस्थालेमात्र निक्षेप संकलन गर्न पाउछन् ।
राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंक र बीमा समितिका प्रतिनिधि सदस्य रहेको समितिले अनुसन्धान गरिरहेको छ । विभागका उपमहानिर्देशक राममणि दवाडीको संयोजकत्वको समितिको प्रारम्भिक अनुसन्धानमा तीन वटै कानून वेवास्ता गर्दै ठूलो परिमाणमा रकम संकलन गरेको ठहर गरेको हो । त्यस लगत्तै ८ जना सञ्चालकहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले मातहत प्रहरी कार्यालयहरुलाई आइतबार नै निर्देशन दिएको थियो ।
युनिटीले पिरामिड शैलिको नेटवर्किङ व्यापारमार्फत सदस्य बनाउने भन्दै जनही करिब १५ हजार रुपैयाँ उठाउने गरेको थियो । स्वदेश र विदेशमा गरी ६ लाख ५० हजार सदस्य रहेको कम्प्नीका पदाधिकारीले बताउने गरेका छन् । यस आधारमा १० अर्ब रुपैया संकलन भइसकेको छ ।
'तर अनुसन्धानका क्रममा उनीहरुले प्रचारका लागि धेरै भनिएपनि ३ लाख ५० हजारमात्र सदस्य भएको बताए' अर्थ सम्बद्ध श्रोतले भन्यो । यस आधारमा पनि रकम झण्डै सवा ५ अर्ब रुपैया हुन्छ । विभिन्न दलका राजनीतिकर्मी, सरकारी कर्मचारी लगायतलाई प्रभावमा पारी व्यवसाय विस्तार गरिरहेको थियो ।
सदस्यलाई निक्षेप भन्ने रसिद दिने गरेको पाइएको पनि सम्बद्ध श्रोतले बतायो । 'फिना कोअपरेटिभमा निक्षेप भनेर जम्मा गरेपनि व्यक्तिको नाममा खाता देखिएन' उनले भने 'संस्थाको नाममा मात्र खाता छ ।' संस्थाको नामको खातामा करिब ८ करोड रुपैया देखिएपनि पछिल्लो केही दिनमात्र मात्र डेढ करोड झिकेको समेत उनले बताए । 'अरु रकम भेटिएको छैन, थप अनुसन्धान भइरहेको छ ।' १५ हजारमध्ये १३ हजार निक्षेप भनेर र २ हजार रुपैया छुटमा स्वास्थ्य जाँच तथा एस्योरेन्स भन्दै बीमा रकम लिने गरेका छन् । संस्थाको वासलात र अन्य वित्तिय विवरण अध्ययन गर्न बाकी रहेको पनि उनले बताए ।
'कतिपय जिल्ला शिक्षा कार्यालयमा तलब लिन जाने शिक्षकहरुलाई लेखापालहरुले नै सदस्य बन्न दवाव दिने गरेकेा समेत पाइयो' अर्का एक अधिकारीले भने - 'यो जालो धेरै भित्र सम्म पुगेको हुनु पर्छ ।'
नियमति आम्दानी हुने आधार नभई सर्वसाधारणबाट उठाएको रकमबाट अन्तर्राष्ट्रिय उडानको महात्वाकांक्षी योजनापछि यो संस्था धेरैको चासोमा परेको थियो । केही अघिमात्र पर्यटन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको थियो । त्यस लगत्तै अर्थ मन्त्रालयले आन्तरिक रुपमै छानविन थालेको थियो । विभिन्न दलका नेता र सरकारका जिम्मेवार अधिकारीहरुको शुभकामना मन्तब्य, फोटो, भिडियोमार्फत देशमा र विदेशमा मानिसलाई प्रभाव पार्ने गरेको समेत खुल्न आएको छ ।
पक्राउको सूचि
१ स्याङ्गजा फेदीखोला ६ का प्रसाद भनिने काशीराम गुरुङ्ग ।
२ पर्वत, अर्थरडाडा ३ का कृष्णबहादुर क्षेत्री
३ पर्वत, अर्थरडाडा ३ का बिष्णबहादुर क्षेत्री
४ वाग्लुङ्ग, वालिङ्ग ३ का महेन्द्र केशी
५ झापा, चकचकी ५ का नेत्र राजवशी
६ नवलपरासी, सुनवल २ का इन्द्रबहादुर विश्वकर्मा
७ चितवन दिव्यनगर ६का भिमबहादुर गुरुङ्ग
८तेह्रथुम, मोराहाङ्ग ५ का विश्वनाथ गौतम
0 comments:
Post a Comment